भारतसँग नयाँ सम्झौता हुँदैनन्ः प्रधानमन्त्री
काठमाडौः प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो आसन्न भारत भ्रमणमा कुनै नयाँ सम्झौता नहुने बरु विगतमा भएका सहमति सम्झौताको कार्यान्वयनमा नेपालले जोड दिने बताएका छन् ।
भारत भ्रमणबारे पूर्वपरराष्ट्रमन्त्री र कूटनीतिज्ञसँग बुधबार सल्लाह सुझाव लिने क्रममा प्रधानमन्त्री दाहालले भने, ‘मेरो भारत भ्रमणमा खासै नयाँ विषय छैनन् । यसपटक नयाँ सम्झौता गर्नुभन्दा पुराना सम्झौताको प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ । भारतीय पक्षबाट पनि भ्रमणमा नयाँ विषयमा आउने छैनन् भन्ने लाग्छ । हाम्रा तर्फबाट पनि नयाँ सम्झौता गर्न जोड दिने छैनौं ।’
दाहालले आफूले लामो ‘सपिङ लिस्ट’ लिएर भारत जान नलागेको बताए । भारत भ्रमणमा जाने भन्नेबित्तिकै नेपालमा तरंग आउने गरेको भन्दै उनले आफ्नो भ्रमणलाई संशयका रूपमा नलिन आग्रह गरे ।
दाहालले भारतीय पक्षसँग हुलाकी राजमार्ग निर्माणको दोस्रो चरणअन्तर्गतको समझदारीपत्रमा हस्ताक्षर हुने बताए । त्यस्तै, भारतीय प्रधानमन्त्री मोदीको दुई वर्षपहिले भएको नेपाल भ्रमणका क्रममा हस्ताक्षरित ऊर्जा व्यापार सम्झौताको प्रभावकारी कार्यान्वयनको विषय भ्रमणको एजेन्डा रहेको उनले अवगत गराए ।
प्रधानमन्त्रीले तीन/चार सय मेगावाटको कुनै एउटा जलविद्युत् परियोजनामा भारतीय सहयोगका विषयमा छलफल हुन सक्ने बताए । प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो भारत भ्रमणमा छलफल भएको नौमुरे परियोजनामा भारतीय सहयोग लिनेबारे त्यस अवसरमा इंगित गरेका थिए ।
‘मूलतः भारतसँग विश्वासको वातावरण बनाउनु भ्रमणको उद्देश्य रहेको प्रधानमन्त्रीले बताउनुभयो’, विदेश मामिला सल्लाहकार डा. ऋषिराज अधिकारीले अन्नपूर्णसँग भने ।‘
भारतले किन नाकाबन्दी गर्यो सोध्नुस्’
भारतले नेपालमा गत वर्ष संविधान जारी भएपछि नाकाबन्दी नै लगाउनुपर्ने वातावरण किन बन्यो भन्नेबारे भारतीय नेतृत्वसँग सोध्न प्रधानमन्त्री दाहाललाई पूर्वपरराष्ट्रमन्त्रीहरूले सुझाएका छन् ।
परामर्श बैठकमा सहभागी पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले भने ‘नेपाल र भारतबीचमा अविश्वासको वातावरण के कारणले भयो, दुईटा यति नजिकको मित्रहरूको बीचमा के कारणले असमझदारी भयो भन्ने विषयमा भारतीय मित्रहरूसँग सोध्नुस् ।’
उनले नेपालमा अघोषित नाकाबन्दी गरेर भारतले छिमेकी देशमाथिको गर्ने व्यवहार नगरेकाले के कारणले त्यो स्थिति उत्पन्न भयो त्यसको कारण खोज्न प्रधानमन्त्रीलाई सुझाए । ‘यो परिस्थिति आउनुपर्ने कारण के भयो ? यसमा तपाईंहरूको धारणा के हो खुलेर सोध्नोस्’ उनले भने ।
नेपाल भारत प्रबुद्ध समूहका सदस्य डा. राजन भट्टराईले नेपाल र भारतबीच के कारणले विश्वासको वातावरण बन्न सकेन त्यसको खोजी गर्नु आवश्यक रहेको बताए ।
नेपाल भारत सम्बन्धलाई १९६०/१९७० को दशकको मानसिकताबाट नभई एक्काइसौं शताब्दीको परिवर्तित परिस्थितिअनुशार अघि बढाउनुपर्ने भट्टराईले बताए । ‘यो दशकमा एसिया क्षेत्रमा जुन खालका घटनाक्रम विकास भइरहेका छन् त्यो परिवर्तित सन्दर्भलाई हामीले कसरी सम्बोधन गर्ने ? त्यसमा हामीले सोचौं’ उनले भने ‘चीन नयाँ शक्तिका रूपमा उदाइसकेको सन्दर्भमा उसको प्राकृतिक रूपमा प्रभाव बढेको छ । चीनको प्रभाव विस्तारलाई रोक्ने कि एडजस्ट गरेर जाने । यसबारे हामी पनि सोच्नुपर्छ ।’
नेपाल भारत सम्बन्धलाई १९६०/१९७० को दशकको मानसिकताबाट नभई एक्काइसौं शताब्दीको परिवर्तित परिस्थितिअनुशार अघि बढाउनुपर्ने भट्टराईले बताए । ‘यो दशकमा एसिया क्षेत्रमा जुन खालका घटनाक्रम विकास भइरहेका छन् त्यो परिवर्तित सन्दर्भलाई हामीले कसरी सम्बोधन गर्ने ? त्यसमा हामीले सोचौं’ उनले भने ‘चीन नयाँ शक्तिका रूपमा उदाइसकेको सन्दर्भमा उसको प्राकृतिक रूपमा प्रभाव बढेको छ । चीनको प्रभाव विस्तारलाई रोक्ने कि एडजस्ट गरेर जाने । यसबारे हामी पनि सोच्नुपर्छ ।’
गत वर्ष भारतले गरेको नाकाबन्दीपछि सम्बन्धमा आएको तिक्तता उल्लेख गर्दै पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपाल भारत सम्बन्धमा यति ठूलो दुर्घटना किन भयो भन्ने पत्ता लगाउन आवश्यक रहेको बताए ।
‘त्यो दुर्घटनाबाट नेपाल भारत सम्बन्धको संवेदनशील अंगहरूमा जुन घाउ लागेको छ, घाउ निको पार्ने औषधि तयार गर्नुस् । त्यो तयार गरेपछि दुई मुलुकका बीचमा विश्वासको वातावरण बन्छ । त्यसपछि अघि बढ्न सकिन्छ’ पाण्डेले प्रधानमन्त्रीलाई भने ।
भारत भ्रमण भन्ने बित्तिकै तरंग आउँछ, मेरो भ्रमणलाई संशयका रुपमा नलिऊँ ।
संविधानमा असहमत थारू, मधेसी, जनजातिको भावना समेटेर संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएपछि दाहाल नेतृत्वको सरकार गठन भएको बताउँदै पाण्डेले भारत भ्रमणअघि संविधान संशोधन गर्दा राम्रो सन्देश जाने बताए । ‘भारत भ्रमणमा जानुअघि तपाईंले संविधान संशोधनको प्रस्ताव दर्ता गरेर जानुस् ता कि नेपालको आन्तरिक मामिलाको वैदशिककरण नहोस्’ उनले भने ।
पूर्वराजदूत डा. दिनेश भट्टराईले भारतजस्तो प्रजातान्त्रिक मुलुकले नेपाली जनताको भाग्य निर्धारकका रूपमा जारी भएको नयाँ संविधानलगत्तै नाकाबन्दी लगाएर असह्य पीडा दिएको र त्यसका कारण दुई देशबीच सम्बन्धमा तिक्तता आएको चर्चा गरे ।
‘तर अब हामीले मात्रै विश्वासको माहोल बनाउने होइन । उनीहरूले पनि कत्तिको विश्वासको माहोल हामीसँग बनाउन तयार छन् त्यसमा ध्यान दिनुपर्छ’ उनले भने । परामर्शका क्रममा भारतका लागि पूर्वराजदूतहरू डा. भेषबहादुर थापा, लोकराज बराल र दुर्गेशमान सिंहलगायत सहभागी भए ।
दाहाल भदौ ३० देखि चारदिने राजकीय भ्रमणमा भारत जाँदैछन् । प्रधानमन्त्री दाहालले नयाँदिल्ली पुगेको भोलिपल्ट भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने तय भएको छ । उनको भ्रमण राजकीय हुने जानकारी भारतीय विदेश मन्त्रालयले हालै गराएको हो । दाहालसहितको एक प्रतिनिधिमण्डललाई भारतीय राष्ट्रपति निवासमा बसोबासको व्यवस्था मिलाइएको छ ।
No comments:
Post a Comment