Wikipedia

Search results

Saturday, December 8, 2012

बलिउड स्टार विभिन्न विषयमा हाम्रा मानक हुन्छन् । हामी कहिले शाहरुख खानजस्तो इमानदार होऔँ भन्छौँ त कहिले सलमान खानको जस्तो बडी बनाउने चाहना बढ्छ । त्यस्तै, हामी कहिलेकाहीँ आमीरको बौद्धिकताको कदर गछौर्ं । चलचित्रको प्रभाव होस् या टेलिभिजनमा विभिन्न कार्यक्रममा उनीहरूको 
प्रस्तुतिले नै किन नहोस्, हामी उनीहरूको प्रशंसा तथा चर्चा गर्न चुक्दैनौँ । उनीहरूको जीवनशैली, बोलीचाली हाम्रो दैनिक जीवनको पर्याय नै बनेको हुन्छ भन्दा फरक नपर्ला । 
बालबालिकाको शिक्षाबारेमा 'तारे जमिन पर' चलचित्र बनाएर आमीरले भारतमा मात्र होइन, नेपालमा पनि शिक्षापद्धतिको विषयमा ठूलो बहस चलाइदिए । त्यस्तै, हाम्रो दैनिक जीवनमा सलमान खानका चलचित्रले पनि ठूलो प्रभाव पक्कै पारेका छन् । साथीभाइ चियागफमा पनि हामी कहिलेकाहीँ तिनै बलिउड स्टारका चर्चा गर्दै, त्यो जस्तो बन् या अन्य कुरा भन्छौँ । उनीहरू हाम्रो दैनिक जीवनमा जीवनशैलीका लागि मात्रै प्रख्यात छैनन्, उनीहरूको कमाइले पनि सबैलाई आकषिर्त गर्छ । तर, खासमा कति पढेका छन् त बलिउड हस्तीहरूले ? उनीहरूको शैक्षिक योग्यता कति हो ? उनीहरूको शैक्षिक योग्यताको विषय भने खासै बाहिर आएको छैन । हाम्रो विश्वास छ, त्यति राम्रो अभिनय गर्ने र त्यस्ता गहन अभिव्यक्ति दिने स्टाहरूको शिक्षा पक्कै पनि कम छैन । तर, यो अनुमान गलत हो । अहिलेका चल्तीका प्रायः बलिउडस्टारले स्नातकसम्म पनि पूरा गरेका छैनन् । 
पछिल्लो समय टेलिभिजन सिरियल 'बिग बोस'ले ख्यातिको शिखरमा पुगेका सलमान खानका चलचित्र पनि कम सफल रहेनन् । बलिउड बक्सअफिसमा उनको पछिल्लो चलचित्र 'एक था टाइगर'ले रेकर्ड नै राख्न सफल पनि भयो । त्यसमा उनले 'र' एजेन्टको ठूलो पदको भूमिका निभाएका छन् । उनको कमाइ र रवाफ पनि बलिउडमा अरू खान कलकारभन्दा कम छैन । तर, उनको शैक्षिक योग्यता भने पत्याउनै नसकिने छ । उनले दश कक्षासम्म मात्र पढेका छन् । चलचित्रहरूमा राम्रो कलेज विद्यार्थीको अभिनय गरे पनि उनले वास्तविक जीवनमा भने कलेजमा राम्रो गर्न सकेनन् । बान्द्रा नेसनल कलेजमा उनी भर्ना त भए, तर एघारको परीक्षा नदिँदै कलेजलाई बाई-बाई भनेर हिँडेँ ।
त्यस्तै, 'सत्यमेव जयते' टेलिभिजन सोका कारण बौद्धिक अभिनेता कहलिएका आमीर खानले पनि स्नातक पढेका छैनन् । 'तारे जमिन पर', 'थ्री इडियट्स'मा औपचारिक शिक्षा ठूलो कुरा होइन भन्दै बक्सअफिसमा राम्रो हैकम जमाएका आमीर पढाइका मामिलामा भने उनका मिल्ने साथी सलमानजस्तै हुन् । आफ्नो काममा जति नै राम्रो भए पनि उनी पढाइमा राम्रा विद्यार्थी होइनन् । मुम्बईको नरसी मोलजी कलेजमा आमीरले १२ कक्षासम्म पढे र पाठ्यपुस्तकलाई बाई-बाई गरे । १२ कक्षा सकेपछि उनी आफ्नो काका नासिर हुसेनको सहयोगी बन्न पुगे । उता, पछिल्लो चलचित्र 'बर्फी'बाट सबैको प्रशंसा बटुलेका रणवीर कपुर 'कपुर खानदान'मै सबैभन्दा बढी पढेका अभिनेता हुन् । तर, उनले पनि कहिल्यै स्नातकका लागि कलेज टेकेनन् । मुम्बईको एचआर कलेजमा रणवीरले दुई वर्ष त बिताए, तर त्यहाँबाट पास भएर निस्कन सकेनन् । त्यसपछि उनी लागे लन्डनतिर, एक्टिङ सिक्न । 
बलिउडमा पछिल्लो समय 'राउडी राथोर'बाट धमाका मच्चाएका अक्षय कुमार पनि बलिउडमा स्नातक नगर्ने अभिनेतामा पर्छन् । मुम्बईको डन बस्कोमा आफ्नो स्कुलेजीवन पूरा गरेका अक्षयले कलेज लाइफ भने राम्रोसँग अनुभूत पनि गर्न पाएनन् । खालसा कलेजमा भर्ना भएका अक्षय कुमारलाई पढाइभन्दा खेलकुद नै सधैँ प्राथमिकताको विषय लाग्यो । त्यसैले उनी भर्ना भएको कलेजमा पढ्दै नपढी मार्सल आर्टस् सिक्न बैंकक उडे । 
उता, दुई विषयमा डिग्री सकेका अमिताभ बच्चनका छोरा अभिषेकले स्नातक नै सकेनन् । मोर्डन स्कुल, बम्बई स्कटिस स्कुल र एग्लोन कलेजबाट आफ्नो अध्ययन अगाडि बढाएका अभिषेकले अध्ययनका लागि बोस्टन विश्वविद्यालयमा भर्ना त गरे तर अध्ययन पूरा गर्न सकेनन् । स्नातकको अध्ययन पूरा नगरी उनी अभिनयमा लागे । त्यस्त,ै इमरान खानले कलेजमा भर्ना भएर आफ्नी प्रेमिका, श्रीमती त पाए, तर स्नातक पास भएको सर्टिफिकेट पाउन सकेनन् । क्यालिफोर्नियाबाट १२ को अध्ययन पूरा गरेका इमरानले स्नातकका लागि सेन्ट जेभियर्स कलेजमा भर्ना त गरेका थिए, तर उनको रुचिको विषय पढाइभन्दा रोमान्स बन्यो । त्यहीँ भेटिएकी अवन्तिकासँग उनले बिहे गरे र अभिनयमा लागे । उता, बेलायतमा लोंकर्स पार्क स्कुलमा पढेका सैफ अली खान पनि त्यस्ता बलिउड अभिनेता हुन्, जसले स्नातक पनि पूरा गरेका छैनन् । विन्चेस्टर कलेजमा भर्ना भएका खान आफ्नो पढाइ पूरा नगरी भारत फर्के र अभिनयमा लागे ।
बलिउडमा राम्रो छवि बनाएका यी अभिनेताले हाम्रो जीवनमा राम्रो प्रभाव पारेका छन् । उनीहरूको आफ्नो विषयमा लगावका कारण उनीहरू जीवनमा भने सफल भएको मानिन्छ । यसले प्रश्न उठाइदिएको छ, के औपचारिक शिक्षा सफलताका लागि सबैभन्दा ठूलो आवश्यकता हो त ?

No comments:

Post a Comment

Followers