काठमाडौ, श्रावण २१ - अमेरिकी डलरको मूल्य बढेकाले नेपाली हाते कागज उत्पादकलाई राहत मिलेको छ । गत आर्थिक वर्षको ११ महिनामा हाते कागज निर्यातबाट ५२ करोड १३ लाख रुपैयाँ आम्दानी भएको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार हाते कागजको निर्यातमा भएको उक्त वृद्धि ५१ दशमलव ३ प्रतिशत बढी हो । अघिल्लो वर्ष यसै अवधिमा ३४ करोड ४६ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।
डलरको मूल्यमा वृद्धि र अन्तर्राष्ट्रिय बजारमा हाते कागजको साख बढेकाले निर्यात बढेको हाते कागज संघका सचिव मोहनकृष्ण मानन्धरले बताए । अतिकम विकसित देशका उत्पादनलाई शून्य भन्सार दरमा प्रवेश पाउने भएकाले पनि निर्यात बढेको उनले बताए । यसैगरी आव २०६६/६७ मा ५१ करोड ९७ लाख रुपैयाँको हाते कागज निर्यात भएको राष्ट्र बैंकको तथ्यांकमा छ ।
अन्तर्राष्ट्रिय बजारमा र्यापिङ पेपर र ज्वलेरीमा बढी झुकाव देखिएको उनले बताए । नेपाली कागजमा कीरा नलाग्ने हुँदा प्रायः सरकारी कार्यालयमा प्रयोग हुन्छ ।
नेपाली कागज मुख्यतः युरोप, क्यानाडा, जापान, अमेरिकामा निर्यात हुन्छ ।
हाते कागज महिला रोजगारी दिलाउने उद्योग पनि हो । नेपालमा साना तथा ठूला गरी १ सय हाते कागज उत्पादन गर्ने र्फम छन् । यस उद्योगमा प्रत्यक्ष रूपमा २० हजारले रोजगारी पाएका छन् । जसमध्ये ८० प्रतिशत महिला रहेको सचिव मानन्धरले बताए ।
अन्य मुलुकसरह यस उद्योगमा पनि दक्ष जनशक्ति, कच्चा प्रदार्थको अभाव लगायत समस्या छन् । हिमाली बासिन्दाको आयआर्जनको महत्त्वपूर्ण स्रोतको रूपमा रहेको हाते कागजको कच्चा पदार्थ लोक्ता संरक्षणको अभावमा मासिँदै गएकोले यसका लागि सरकारले वाषिर्क विकास कार्यक्रम गर्नुपर्ने उनले बताए । लोक्त्ता नेपालको ५५ जिल्लामा पाइन्छ ।
केही वर्षअघिसम्म लोक्ता उत्पादन हुने हरेक हिमाली जिल्लाहरू स्थानीय स्तरमा कागज उद्योगहरू सञ्चालन हुँदै आएकोमा पछिल्लो समय अधिकांश युवा वैदेशिक रोजगारमा जाने क्रम बढेपछि कारखाना बन्दमात्र भएका होइनन्, कागजको कच्चा पदार्थ लोक्तासमेत संरक्षणविहीन बनेको उनले बताए । सीप सिकेका अधिकांश युवाहरू बिदेसिएकाले हाते कागज गुणस्तरीय हुन नसकेको उनले बताए ।
No comments:
Post a Comment